३० असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा विभिन्न सामाजिक सञ्जालमा बनाइएका नक्कली अकाउन्टहरूका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रधानमन्त्रीको नाममा फेसबुक, इन्स्टाग्राम र अन्य प्लेटफर्महरूमा फेक आईडीहरू बनाएर भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको पाइएको थियो। यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै ती सबै अकाउन्ट नक्कली भएको स्पष्ट गरेको थियो।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीका अनुसार, प्रधानमन्त्रीको नाम दुरुपयोग गरेर फेक अकाउन्ट सञ्चालन गर्ने व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरिएको छ। “केही व्यक्तिलाई सोधपुछका लागि बोलाइएको छ, तर अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,” उनले भने।
ब्यूरोले हालसम्म प्रधानमन्त्रीको नाममा २६ वटा फेक अकाउन्ट भेटिएको जनाएको छ। ती अकाउन्टहरू बन्द गराउनका लागि सम्बन्धित कम्पनीहरूसँग पत्राचार गरिएको र केही अकाउन्ट पहिले नै बन्द भइसकेको पनि बताइएको छ।
साइबर ब्यूरोले नागरिकहरूलाई आधिकारिक सूचना वा गतिविधि केवल प्रधानमन्त्रीको प्रमाणित अफिसियल पेज र सरकारी स्रोतहरूबाट मात्रै विश्वास गर्न आग्रह गरेको छ।



Leave a Reply