३१ असोज, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम सम्झौता उल्लंघन गर्दै हत्या शृङ्खला जारी राखे हमासविरुद्ध कठोर कारबाही गर्ने चेतावनी दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले लेखेका छन्, “यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसहरूको हत्या जारी राख्छ भने, हामीसँग तिनीहरूलाई समाप्त गर्नेबाहेक अर्को कुनै विकल्प रहने छैन।”
हालै इजरायल र हमासबीच इजिप्टको कायरोमा अमेरिकी मध्यस्थतामा युद्धविराम सम्झौता भएको थियो। इजिप्ट, कतार र टर्कीले समेत त्यस सम्झौतामा सहयोग पुर्याएका थिए। सम्झौता अनुसार दुवै पक्षले जीवित र मृत बन्दीहरूको अदलाबदल गरेका थिए।
तर, इजरायली सेना पछि हटेपछि गाजाका केही क्षेत्रमा पुनः विद्रोही गतिविधि बढेको र हमासका लडाकुहरू हतियारसहित सडकमा देखिन थालेपछि स्थिति फेरि तनावपूर्ण बनेको बताइएको छ।
ट्रम्पको पछिल्लो चेतावनी गाजामा बढ्दै गएको हिंसात्मक घटनासँग जोडिएको छ। उनले यसअघि अमेरिकी सेना गाजामा तैनाथ नगर्ने बताएका थिए।
युद्धविरामपछि गाजाका बासिन्दा बिस्तारै घर फर्किरहेका छन् र राहत सामग्री बोकेका ट्रकहरू निरन्तर प्रवेश गरिरहेका छन्। तर, दुई वर्ष लामो युद्धले गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको छ — जहाँ ६७ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको र डेढ लाखभन्दा बढी घाइते भएका छनl



Leave a Reply