चीन ले भ्रष्टाचारसम्बन्धी गम्भीर आरोपमा दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय सुनाएको छ। दोषी ठहर गरिएका ली साङ्फु र वेई फेङ्गे लाई सम्पत्ति जफत गर्ने निर्णयसमेत गरिएको छ।
सरकारी समाचार एजेन्सी सिन्ह्वा समाचार एजेन्सी का अनुसार दुवैलाई प्रारम्भिक रूपमा दुई वर्षको निलम्बित मृत्युदण्ड दिइएको छ। उक्त अवधिमा कुनै नयाँ अपराध नगरेमा सजायलाई आजीवन कारावासमा रूपान्तरण गर्न सकिने प्रावधान रहेको छ।
गत वर्ष अचानक पदबाट हटाइएका ली साङ्फुमाथि ठूलो मात्रामा घुस लिएको, पदको दुरुपयोग गरेको तथा सैन्य अनुशासन उल्लङ्घन गरेको आरोप छ। यस्तै, वेई फेङ्गेमाथि पनि रक्षा मन्त्रालयसँग सम्बन्धित निर्णयहरूमा अनुचित लाभ लिएर घुसखोरी गरेको अभियोग पुष्टि भएको जनाइएको छ।
दुवै नेतालाई सन् २०२४ मा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी बाट निष्कासन गरिएको थियो।
विश्लेषकहरूका अनुसार यो कारबाही सी जिनपिङ नेतृत्वको व्यापक भ्रष्टाचारविरोधी अभियानको निरन्तरता हो। पछिल्लो समय चिनियाँ सेना, विशेषगरी हतियार खरिद र रकेट फोर्ससँग सम्बन्धित निकायहरूमा व्यापक अनुसन्धान र कारबाही भइरहेको छ।
यस अभियानअन्तर्गत दर्जनौँ वरिष्ठ सैन्य अधिकारीहरू पदमुक्त भइसकेका छन् भने केहीमाथि कानुनी कारबाही पनि अघि बढाइएको छ।
भ्रष्टाचार प्रकरणः चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड, सम्पत्ति जफत गर्ने फैसला
Leave a Comment
Leave a Comment



