निर्वाचनलाई समयमै सम्पन्न गराउने सरकारको लक्ष्यः प्रधानमन्त्री कार्की

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३१ असोज,काठमाडौं ।
प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको मुख्य उद्देश्य तय समयमै निर्वाचन सम्पन्न गर्नु रहेको बताएकी छिन्।

शुक्रवार अपरान्ह सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग पहिलो सामूहिक भेट गर्दै प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको अन्तरिम सरकारका प्राथमिकताबारे जानकारी गराएकी हुन्।

परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश नीति, लोकतान्त्रिक प्रक्रिया र निर्वाचन तयारीबारे धारणा व्यक्त गरेकी थिइन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, प्रधानमन्त्रीले निर्वाचनका लागि अन्तर्राष्ट्रिय सहयोग र समर्थनको अपेक्षा रहेको बताइन्।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई पनि आगामी निर्वाचनमा मतदानको अवसर दिलाउन सरकारले तयारी गरिरहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीसँगको उक्त भेटमा नेपालस्थित विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी रहेका थिए।

Leave a comment