मोरोक्कोले जित्यो फिफा यू–२० विश्वकप, अर्जेन्टिनालाई २–० ले पराजित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ३ कात्तिक २०८२ | थाहा संवाददाता

सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनालाई २–० ले पराजित गर्दै मोरोक्कोले पहिलो पटक फिफा यू–२० विश्वकप फुटबलको उपाधि हात पारेको छ।

आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा मोरोक्कोका यासिर जबिरी खेलका नायक बने। उनले खेलको १२औं र २९औं मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाए।

यो जितसँगै मोरोक्को फिफाको कुनै पनि स्तरको प्रतियोगिता जित्ने पहिलो अफ्रिकी देश बनेको छ।

सेमिफाइनलमा मोरोक्कोले फ्रान्सलाई र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले फ्रान्सलाई १–० ले हराउँदै कांस्य पदक हात पारेको छ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीको रूपमा मोरोक्कोका ओथमाने माम्माले गोल्डेन बल पुरस्कार पाए।
त्यसैगरी अमेरिकाका बेन्जामिन क्रेमास्चीले सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) पुरस्कार जिते। उनले पाँच गोल गरे भने समान गोल गर्ने कोलम्बियाका नाइजर भिल्लारियल र फ्रान्सका लुकास माइकललाई गोल अवसर सिर्जनामा पछाडि पार्दै उनले उपाधि हात पारे।

सर्वश्रेष्ठ गोलकिपरका रूपमा उपविजेता अर्जेन्टिनाका सान्टिनो बार्बीले गोल्डेन ग्लभ्स जिते भने अमेरिकी टिमलाई ‘फिफा फेयर प्ले अवार्ड’ प्रदान गरियो।

मोरोक्कोको यो ऐतिहासिक उपाधिले विश्व फुटबलमा अफ्रिकी देशहरूको प्रभाव पुनः पुष्टि गरेको छ।

Leave a comment