काठमाडौँ उपत्यकामा मापसे जाँच कडाइका साथ सुरू

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक ६, २०८२।
भाइटीकाको दिन राजधानीमा सवारी दुर्घटना न्यूनिकरण र सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ।

उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने अधिकांश सवारी दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन देखिँदै आएकोले यस वर्ष प्रहरीले विशेष सतर्कता अपनाएको हो।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद र ट्राफिक प्रहरी बिहानैदेखि रातिसम्म उपत्यकाभर खटिएका छन्। प्रमुख चोक, सडक र गल्लीमा मापसे परीक्षण कडाइका साथ भइरहेको प्रहरीले जनाएको छ।

कार्कीका अनुसार प्रहरीको उद्देश्य चालकलाई दण्डित गर्नु होइन, सचेत र जिम्मेवार बनाउनु हो।

“हाम्रो उद्देश्य दण्ड होइन, चेतना जगाउनु हो। नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिनुपर्छ भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौं,” उनले भने।

अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं निरीक्षणमा खटिएका छन्। उनले टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल र बल्खु लगायत क्षेत्रका चालकहरूको मापसे परीक्षण गरेका थिए।

भाइटीकाको दिन मात्रै सयौँ सवारी चालकहरूको परीक्षण गरिएको र नियम उल्लङ्घन गर्नेहरूमाथि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चाडपर्वलाई सुरक्षित, मर्यादित र अनुशासित बनाउन सर्वसाधारणमा सचेतना फैलाउन निरन्तर अभियान जारी राख्ने जनाएको छ।

Leave a comment