२५ भदौ, बारा । हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएपछि बारा जिल्लामा थप जोखिमबाट बच्न कर्फ्यू आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २५ गते बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू लागू गरिएको हो।
यस अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न निषेध गरिएको छ। आदेश जिल्लाभर लागू हुनेछ, जसको चारकिल्ला पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतसम्म रहनेछ।
शान्ति–सुरक्षा कायम गर्न नेपाली सेनासहितका सबै सुरक्षा निकाय परिचालन गरिएको छ। त्यस्तै, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी र सञ्चारकर्मी प्रयोग गर्ने अत्यावश्यक सेवाका सवारी साधनलाई भने आवतजावतमा सहजीकरण गरिने जनाएको छ।
प्रशासनले सबै नागरिकलाई संयमित रहि आफ्नै घरभित्र बस्न अपिल गरेको छ।


