बारा, साउन १३ — बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा भएको गहना चोरी प्रकरणलाई लिएर स्थानीयवासीले घटनाको निष्पक्ष अनुसन्धान, दोषीको तत्काल पहिचान तथा कारबाहीका साथै मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज सार्वजनिक गर्न माग गरेका छन्।
साउन १० गते आइतबार राति मन्दिरको ताला फोडेर चार थान बहुमूल्य गहना चोरी भएको घटनापछि स्थानीयले पत्रकार सम्मेलन आयोजना गर्दै धार्मिक आस्थाको केन्द्रमा भएको सुरक्षा कमजोरीप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका निवर्तमान सभापति चन्दन कुमार स्वर्णकारले गढीमाई मन्दिरमा भएको चोरीको घटनाले सर्वसाधारणको धार्मिक विश्वासमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरे।
मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार चोरी भएका सामग्रीमा चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी तथा सुनको हार रहेका छन्।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले घटनाबारे सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको हालसम्म पहिचान हुन नसके पनि उनीहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको छ ।
स्थानीयवासीले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गढीमाई मन्दिरको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने आवश्यकता समेत औँल्याएका छन्।

