कार्तिक ८ कलैया, बाराः छठ पर्वको नहानको दिन कलैयामा जहाँ बजार किनमेल र तयारीको भीड थियो, त्यही बेला युवाहरू सडक निर्माणको मागसहित पसल–पसल घुम्दै हस्ताक्षर अभियानमा व्यस्त देखिए।
कलैया–सितलपुर सडक खण्डका करिब ३ किलोमिटर भाग वर्षौंदेखि अधुरो छ। धुलो, हिलो र खाल्डाखुल्डीले नागरिकलाई हैरान बनाएको यो सडक निर्माणका लागि युवाहरूले केही दिनअघि हस्ताक्षर अभियान सुरु गरेका थिए।
चौक–चौकबाट सुरु, अब पसल–पसलमा हस्ताक्षर
अभियानका प्रारम्भिक दिनहरूमा युवाहरूले चौक–चौक र टोल–टोलमा पुगेर घर–घरमा हस्ताक्षर संकलन गरेका थिए।
आज (बुधबार) छठको नहानको दिन भने उनीहरूले बजार क्षेत्रका पसल–पसलमा गएर व्यापारी र ग्राहकसँग हस्ताक्षर गराउँदै अभियानलाई अझ सशक्त बनाएका छन्।
अभियानका संयोजक सौरभ पाण्डेले भने,
“पहिला हामीले चौक चौकमा गएर हस्ताक्षर गरायौं। अब बजारका पसलहरूमा घुम्दै सबै तहका नागरिकलाई समेटिरहेका छौं। यो केवल सडकको मुद्दा होइन, सम्पूर्ण कलैयाको अधिकार हो।”
छठको तयारीबीच पनि समर्थन
छठ पर्वको नहानका लागि फलफूल र पूजा सामग्री किन्ने भीडबीच युवाहरू हस्ताक्षर अभियानमा जुटिरहेका छन्।
स्थानीय व्यापारी सुरेश साह भन्छन्,
“छठको भीडभाडमा पनि यी युवाहरू सडकका लागि दौडिरहेका छन्। यस्तो जिम्मेवार सोच सबैले सिक्नुपर्ने हो।”
अभियानमा सहभागिता बढ्दो
अहिलेसम्म करिब ३२०० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ। युवाहरूको लक्ष्य ५,००० हस्ताक्षर संकलन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने रहेको छ।
अभियानमा सौरभ पाण्डे, सञ्जय चौधरी, अमित चौधरी, सुमित पटेल, सौरभ चौगाई लगायतका युवाहरू सक्रिय छन्।
समाजमा सन्देश — पर्व र जिम्मेवारी सँगसँगै
छठजस्तो धार्मिक उत्सवमा पनि सामाजिक उत्तरदायित्व बोकेर अघि बढेका युवाहरूले उदाहरण प्रस्तुत गरेका छन्।
उनीहरूको सन्देश स्पष्ट छ —
“उत्सव मनाउँ, तर विकासका लागि आवाज पनि उठाऔं।”



Leave a Reply