काठमाडौं, ९ कात्तिक — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ। आयोगले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारी तीव्र गतिमा अघि बढाइरहेको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बजेट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। उनले भने, “हाल साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, तर अन्तिम टुंगो अझै बाँकी छ।” आयोगले अन्तिम बजेट प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ।
सामग्री खरिद छठपछि
आयोगले आवश्यक सामग्रीहरूको सूची तयार पार्दै छ र छठ पर्व सकिएलगत्तै ती सामग्री किन्न सुरु गर्ने तयारीमा छ। यसका लागि अर्थ मन्त्रालयसँग निरन्तर छलफल भइरहेको आयोगले जनाएको छ। पहिलेका निर्वाचनमा प्रयोग भएका सामग्री पनि पुनः प्रयोग गरिने आयोगले जनाएको छ।
हिमाली क्षेत्रका लागि हेलिकप्टरको व्यवस्था
हिमाली क्षेत्रमा कर्मचारी र सामग्री ढुवानीका लागि आयोगले आकस्मिक व्यवस्थापन शीर्षकमा छुट्टै बजेट राख्ने तयारी गरेको छ। प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत सामग्री र कर्मचारी पठाउनुपर्ने सम्भावनालाई ध्यानमा राख्दै यो प्रावधान राखिएको हो।
एक हजार मतदाता बराबर एक मतदान केन्द्र
आयोगले आगामी निर्वाचनमा एक हजार मतदाता भए एक मतदान केन्द्र बनाउने नीति कायम राखेको छ। प्रत्येक केन्द्रमा कम्तीमा १४ जना कर्मचारी खटाइने आयोगको भनाइ छ। यसै कारण सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीको पारिश्रमिक र व्यवस्थापनमा हुने अनुमान गरिएको छ।
निर्वाचन आयोगका अनुसार छठ पर्वपछि तयारीको गति झन् बढाइनेछ, ताकि फागुन २१ गते निर्धारित मितिमा निर्वाचन सहज र व्यवस्थित रूपमा सम्पन्न गर्न सकियोस्।



Leave a Reply