आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइँदै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया/काठमाडौँ, कात्तिक ११ — आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर श्रद्धा र भक्तिपूर्वक छठ पर्व मनाइँदैछ। मिथिलाञ्चलको महान् पर्वका रूपमा चिनिने छठमा सूर्यदेवको आराधना गरी कृतज्ञता र निष्ठाको प्रतीक स्वरूप पूजा–अर्चना गरिँदैछ।

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘अस्ताउँदो सूर्यलाई अर्घ्य’ र अन्तिम दिन मंगलबार बिहान ‘उदाउँदो सूर्यलाई अर्घ्य’ दिएर विधिवत् समापन गरिन्छ। आजको दिन मुख्य विधिको रूपमा देशभरका नदी, ताल, पोखरी र घाटहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै पूजा–सामग्रीसहित अर्घ्य अर्पण गर्दैछन्।

तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने कलैयाका रामजानकी, सिद्धेश्वर, बरेवा छठी घाटलगायतका जलाशयहरू बेहुलीझैं सिँगारिएका छन्। रंगीन बत्ती, कपडा र फूलमालाले सजिएका घाटहरूमा महिला र युवतीहरू छठ गीत गाउँदै तयारीमा जुटेका छन्। जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक घाटहरू पनि झिलमिल बत्ती र मधुर भजनले गुञ्जिरहेका छन्।

राजधानी काठमाडौंमा पनि गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायतका नदी किनार र पोखरीहरू विशेष रूपमा सजाइएका छन्। भक्तजनहरूले श्रद्धा, निष्ठा र परिवारको सुख–समृद्धिका लागि सूर्यदेवलाई अर्घ्य दिँदै व्रत बसिरहेका छन्।

छठ पर्वमा बाँसका ढाकी, माटोका कोसिया–कुरबार, ठकुवा, भुसुवा, केरा, उखु, मिठाई, अदुवा, हल्दी, तरकारी तथा विभिन्न फलफूल सूर्यदेवलाई अर्पण गरिन्छ। ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर कठोर व्रत बस्ने भएकाले छठलाई निष्ठा र तपस्याको पर्व मानिन्छ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने देशभरका जलाशय र घाटहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Leave a comment