मोन्था’ आँधीबाट बच्न उच्च सजगता अपनाउने मधेश सरकारको निर्णय

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

९ कार्तिक ,जनकपुरधाम — बंगालको खाडी हुँदै नेपालतर्फ आइरहेको समुद्री आँधी ‘मोन्था’ को प्रभाव बिहीबार दिउँसोदेखि मधेश प्रदेशका जिल्लाहरूमा देखिन सक्ने भएकाले प्रदेश सरकारले उच्च सजगता अपनाउने निर्णय गरेको छ।

मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा बुधबार जनकपुरधाममा बसेको प्रदेश विपद्‌ व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्भावित जोखिम न्यूनीकरणका लागि सबै निकायलाई सतर्क रहन निर्देशन दिएको हो।

मुख्यमन्त्री सोनलका अनुसार, आँधीको प्रभाव आगामी १५ गतेसम्म रहने भएकाले नदी तथा खोलामा जलस्तर बढ्ने खतरा छ। उनले जनतालाई जोखिम क्षेत्र नजान, सतर्क रहन र विपद्‌ आइपरेमा तुरुन्त उद्धार सहयोग माग्न आग्रह गरे।

बैठकले विपद्‌का बेला चारै सुरक्षा निकाय — नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग — तत्काल उद्धार र राहतका लागि परिचालन गर्ने निर्णय गरेको छ।

मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आँधीको प्रत्यक्ष प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। विशेष गरी रातो, विगही, लखनदेही, बागमती, कमला र सप्तकोशी नदीको जलस्तर बढ्ने सम्भावना रहेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मुख्यमन्त्री सोनलले स्थानीय तह, सुरक्षाकर्मी, युवा समूह र सामाजिक संघसंस्थालाई उद्धार तथा राहत तयारीमा सघाउन अनुरोध गर्दै भने, “सामूहिक प्रयासले मात्र सम्भावित क्षति घटाउन सकिन्छ।”

Leave a comment