फरार कैदी नियन्त्रणमा, हतियार फिर्ता अभियान सुरु : प्रधानमन्त्री कार्की

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बुधबार, १२ कात्तिक २०८२-काठमाडौँ — प्रधानमन्त्री सुसीला कार्कीले सरकार निर्धारित मितिमै चुनाव गराउन पूर्ण रूपमा तयार रहेको बताउँदै सबै राजनीतिक दल र जेन–जी (Gen–Z) प्रतिनिधिलाई निर्धक्क रूपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छिन्।

बुधबार साँझ बालुवाटारमा करिब पाँच घण्टा चलेको त्रिपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले फरार कैदी नियन्त्रण र लुटिएका हतियार फिर्ता गर्ने अभियान सुरु भएको जानकारी दिइन्।
“सरकार चुनाव गराउन लागिपरेको छ, सबै दल सहभागी बनौँ। बाहिर पुगेका हतियार ल्याइसक्छौँ, फरार कैदी समात्ने प्रक्रिया सुरु भइसकेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्।

उनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार र सहिद परिवारलाई राज्यले सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।

बैठकमा सहभागी अधिकांश दल र जेनजीका प्रतिनिधिले चुनावमा जानुपर्ने मत राखे भने नेकपा एमालेले भने संसद पुनर्स्थापना हुनुपर्ने अडान दोहोर्‍याएको छ। जसपा नेपालका नेता प्रकाश अधिकारीका अनुसार, कांग्रेसले संसद पुनर्स्थापनाको अडान केही नरम बनाउँदै कानुनी समाधानको बाटो खोज्ने प्रस्ताव गरेको थियो।

अन्य दलहरूले सुरक्षा, खोसिएका हतियार र फरार कैदीका कारण उत्पन्न भयको वातावरणबारे चिन्ता जनाउँदै ती समस्याको छिटो समाधान माग गरेका थिए।

Leave a comment