काठमाडौं, जेठ ३१ — परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको भ्रमणका क्रममा उनले दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल गर्नेछन्।
शनिबार राति काठमाडौंबाट प्रस्थान गरेका मन्त्री खनाल आइतबार अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी उनले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि उनी सहभागी हुने कार्यक्रम रहेको छ।
मन्त्री खनालले भ्रमणका क्रममा चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग समेत छलफल गर्नेछन्। साथै, नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी भई चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण असार ३ गतेसम्म रहनेछ। भ्रमणपछि उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ।
चीन भ्रमणमा पुगे परराष्ट्रमन्त्री खनाल, उच्चस्तरीय भेटवार्ता गर्ने
Leave a Comment
Leave a Comment






