रूसले गर्‍यो अर्को परमाणु ‘पोसाइडन’ टोरपीडोको सफल परीक्षण, पुटिनले भने– अमेरिकालाई जवाफ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

१३ कात्तिक २०८२, बिहीबार | काठमाडौंरूसले नयाँ प्रकारको परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन’ को सफल परीक्षण गरेको छ। यो टोरपीडोले समुद्रमा रेडियोधर्मी लहरहरू पैदा गरी तटीय सहरहरूलाई पलभरमै ध्वस्त पार्न सक्ने क्षमता राख्ने बताइएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनडुब्बीबाट प्रक्षेपण गरिएको यो पूर्ण स्वचालित हतियार रूसको सबैभन्दा शक्तिशाली मिसाइल ‘सरमत’ भन्दा पनि बढी शक्तिशाली रहेको दाबी गरेका छन्। उनका अनुसार, यो हतियारले कुनै पनि देशको रक्षा प्रणालीलाई निष्क्रिय पार्न सक्छ।

असीमित दूरी र परमाणु ऊर्जाबाट चल्ने हतियार

पोसाइडनको सबैभन्दा ठूलो विशेषता यसको भित्र जडान गरिएको न्यूक्लियर इन्धन इकाइ हो। यसले बाहिरबाट इन्धन भर्ने आवश्यकता नपर्ने भएकाले असीमित दूरीसम्म यात्रा गर्न सक्छ। यस कारण यसलाई ‘प्रलयपछिको हतियार’ (Weapon of the Apocalypse) पनि भनिन्छ।

रूसले यसमा काम गर्दै आएको जानकारी पहिलो पटक सन् २०१६ मा बाहिर आएको थियो, र सन् २०१८ मा राष्ट्रपति पुटिनले स्वयं यसको अस्तित्व पुष्टि गरेका थिए।

पनडुब्बीबाट सफल प्रक्षेपण

पुटिनका अनुसार, रूसले यस परीक्षणमार्फत दुई ठूला सफलता हात पारेको छ — पनडुब्बीबाट टोरपीडो प्रक्षेपण र त्यस टोरपीडोभित्र जडित सानो परमाणु रिएक्टरलाई सफलतापूर्वक सक्रिय गरेर सञ्चालनमा ल्याउनु।

उनका अनुसार, उक्त रिएक्टर केही समय सञ्चालनमा रह्यो, जसले यो परियोजना रूसका लागि ऐतिहासिक उपलब्धि बनेको प्रमाणित गर्छ।

के हो टोरपीडो ?

टोरपीडो पानीभित्र चल्ने एक प्रकारको हतियार हो, जसले जहाज वा पनडुब्बीलाई लक्ष्य गरी विस्फोट गराउँछ। यसमा अत्याधुनिक नेभिगेसन र होमिङ प्रणाली जडान गरिएको हुन्छ, जसले आवाज, राडार र अन्य सिग्नल समातेर लक्ष्य निर्धारण गर्छ।

‘पोसाइडन’ यिनै टोरपीडोको उन्नत संस्करण हो, जसले एक किलोमिटरभन्दा बढी गहिराइमा ७० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ। यो समुद्रभित्र लगभग पत्ता लगाउनै नसकिने बताइएको छ।

अमेरिका र नेटोलाई सन्देश

राष्ट्रपति पुटिनले यो हतियारलाई अमेरिका र नेटोको विस्तारवादी नीति विरुद्धको ‘जवाफ’ भएको बताएका छन्। उनका अनुसार, अमेरिकाले पुराना सुरक्षा सम्झौताहरू तोडेर नेटोको प्रभाव पूर्वी युरोपसम्म विस्तार गरेपछि रूस यस्तो हतियार विकास गर्न बाध्य भएको हो।

नर्वेजियन नेभल एकेडेमीकी अनुसन्धानकर्ता इना होल्स्ट पेडरसन क्वामले पोसाइडनलाई ‘मनोवैज्ञानिक हतियार’का रूपमा व्याख्या गरेकी छन्। उनी भन्छिन्, “यसको उद्देश्य केवल विनाश गर्नु मात्र होइन, विरोधी राष्ट्रहरूमा डर र असुरक्षा फैलाउनु पनि हो।”

दुई साताभित्र दोस्रो आणविक सफलता

रूसका लागि यो परीक्षण पछिल्ला दुई साताभित्रकै दोस्रो ठूलो आणविक उपलब्धि हो। यसअघि, अक्टोबर २१ मा रूसले विश्वकै पहिलो परमाणु ऊर्जाबाट चल्ने क्रुज मिसाइल ‘बुरेभेस्टनिक–९एम७३९’ को सफल परीक्षण गरेको थियो।

त्यस मिसाइलजस्तै पोसाइडन पनि असीमित दूरीसम्म सञ्चालन गर्न सक्ने क्षमता राख्छ। योसँगै, रूसले आणविक प्रविधिको नयाँ युगमा प्रवेश गरेको स्पष्ट संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

Leave a comment