- बुटवल, कात्तिक १३, २०८२ – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा हुँदैछ।
उच्च अदालतका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा आजको सुनुवाइ तय भएको छ। यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालले एकै प्रकृतिका मुद्दा भएकाले छविलाल जोशीको मुद्दासँगै सुनुवाइ गर्न आदेश दिएका थिए।
लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरेर थुनाबाट रिहा हुने माग गरेका थिए। तर जिल्ला अदालत रुपन्देहीले निवेदन अस्वीकार गरेको थियो। यो निवेदन अस्वीकार भएपछि लामिछानेले उच्च अदालत बुटवलमा पुन: निवेदन दर्ता गरेका थिए।
उच्च अदालतले लामिछानेसँगै छविलाल जोशीको पनि फाइल पेश गर्न आदेश दिएको छ। सरकारी वकिल र लामिछानेका वकिलका अनुसार, दुवै प्रतिवादीको मुद्दा आजको सुनुवाइमा अघि बढ्नेछ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा रवि लामिछाने, छविलाल जोशीसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो। लामिछानेले आफ्ना भागको बिगो पेश गरिसकेका छन् भने जोशीले पनि उस्तै रकम दाखिला गरेका छन्।
हाल लामिछाने ललितपुर नख्खु कारागारमा र छविलाल जोशी भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन्।
उच्च अदालतको सुनुवाइपछि मात्र दुवै प्रतिवादीको थुनामुक्ति वा निरन्तरताबारे निर्णय हुने अपेक्षा गरिएको छ।



Leave a Reply