विद्युत् प्राधिकरण अगाडि भाषणकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१३ कात्तिक, बुटवल — नेकपा (एमाले) निकट राष्ट्रिय मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि उद्योगहरूको ट्रंकलाइन काटिएको विरोधमा आयोजित प्रदर्शनका क्रममा गौतम भाषणकै बीचमा बेहोस भएर ढलेका थिए। उनलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

क्रिमसन अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार, ६५ वर्षीय गौतमलाई हृदयघात भएको पुष्टि भएको छ।

गौतम बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन्। उनी नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत थिए। सन् १९९७ (२०५४ साल) देखि पार्टी र जिफन्टमा सक्रिय रहेका गौतमका दुई छोरा र श्रीमती रहेका छन्।

नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० उद्योगमा विद्युत् लाइन काटेपछि उद्योगी र मजदुरहरूले संयुक्तरूपमा विरोध प्रदर्शन गरेका थिए।
त्यही कार्यक्रममा मजदुरहरूको तर्फबाट भाषण गरिरहेका गौतमको मञ्चमै ढल्दै ज्यान गएको हो।

स्थानीय उद्योगी, मजदुर र एमाले कार्यकर्ताले गौतमको निधनप्रति दुःख व्यक्त गर्दै उनको योगदानलाई स्मरण गरेका छन्।

Leave a comment