आज हरिबोधिनी एकादशी, सानातन धर्मावलम्बीले तुलसी विवाह गरी मनाउँदै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कार्तिक १५, २०८२ — आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। सानातन धर्मावलम्बीले देशभर तुलसीको विवाह गरी भगवान् विष्णुको आराधना गर्दै यो पवित्र पर्व मनाउँदै छन्।

सनातन परम्परा अनुसार आषाढ शुक्ल एकादशीका दिन घर आँगनमा तुलसी रोपेर चार महिनासम्म पूजा गर्ने चलन छ। यस अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर तुलसीलाई ‘विष्णुप्रिया’को रूपमा पूजा गरी कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिन्छ।

एकादशीका दिन भक्तजनले उपवास बसी नारायणको आराधना गर्छन् भने भोलिपल्ट द्वादशीका दिन हवन गरी विसर्जन गर्ने परम्परा रहिआएको छ।

पौराणिक मान्यताअनुसार, आषाढ शुक्ल एकादशीमा क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु यही दिन जाग्रत हुन्छन्। त्यसैले यो दिनलाई ‘हरिबोधिनी एकादशी’ भनिन्छ — हरि अर्थात् विष्णु र बोधिनी अर्थात् जाग्ने। यसैले आषाढ शुक्ल एकादशी र कार्तिक शुक्ल एकादशी दुवैलाई ‘ठूली एकादशी’ भनेर चिनिन्छ।

भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीको तुलनामा यो दिन गरिने स्नान, दान, तप र उपवास अत्यन्त फलदायी हुन्छ। भगवान् कृष्णले युधिष्ठिरलाई यस दिनको पूजाको फल अक्षय हुने बताएको उल्लेख छ।

पञ्चाङ्ग अनुसार, शनिबार राति २ बजेर ५६ मिनेटसम्म एकादशी तिथि रहनेछ। साथै, आजैदेखि भीष्म पञ्चक आरम्भ हुने भएकाले पूर्णिमासम्म भगवान् विष्णुको विशेष आराधना गर्ने परम्परा रहिआएको छ।

हरिबोधिनी एकादशीको अवसरमा काठमाडौं लगायत देशभरका नारायण मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।

Leave a comment