बारा, कार्तिक १४, २०८२ — प्रादेशिक अस्पताल कलैया, बारामा कुकुरले टोकेका बिरामीलाई दिइने एण्टी रेबिज भ्याक्सिन (ARV) हाल सकिएको छ। अस्पतालले एक सूचना जारी गर्दै अस्थायी रूपमा सेवा अवरुद्ध भएको जनाउँदै सेवाग्राहीहरूलाई क्षमायाचना गरेको छ।
अस्पतालले मधेश प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामबाट नयाँ भ्याक्सिन उपलब्ध हुने वित्तिकै सेवा पुनः सञ्चालन गरिने जानकारी दिएको छ।
भ्याक्सिनको अभाव, तर सीमित मात्रा बाँकी
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय कुमार गुप्ताका अनुसार ARV भ्याक्सिन हाल सकिएको भए पनि टाढाबाट आएका बिरामीलाई ध्यानमा राख्दै केही सीमित मात्रामा बाँकी भ्याक्सिन प्रयोगमा राखिएको छ।
“हाल झन्डै २० जनालाई मात्र दिन सकिने मात्रा बाँकी छ,” उनले बताए।
गुप्ताका अनुसार भ्याक्सिन हरेक महिनामा मात्र एक महिनाको आवश्यकताअनुसार प्रदेशबाट पठाइने भएकाले कहिले काहिँ अभाव हुने गरेको छ।
“हामीलाई प्रदेशले १ महिनाको मात्र मात्रा दिन्छ, जसले गर्दा छिटो सकिन्छ। भ्याक्सिन ल्याउन गाडी भाडा मात्रै पाँच हजार रुपैयाँ लाग्छ। यदि ६ महिनाको जति मात्रा एकैपटक दिइयो भने यो समस्या नआउने थियो,” उनले स्पष्ट पारे।
भोलिदेखि आपूर्ति हुने आशा
मेडिकल सुपरिटेन्डेन्ट गुप्ता आज बिदामा रहेकाले अस्पतालमा नयाँ भ्याक्सिन आज आउन सकेको छैन।
तर, उनले जनकपुरस्थित आपूर्ति केन्द्रबाट भोलि (कार्तिक १५) भ्याक्सिन आउन सक्ने र त्यसपछि सेवा पुनः सुरु हुने बताएका छन्।
Immunoglobulin भ्याक्सिन अझै उपलब्ध छैन
अस्पतालमा Immunoglobulin भ्याक्सिन (Rabies Immunoglobulin) सरकारले हालसम्म उपलब्ध नगराएको गुनासो पनि अस्पतालले गरेको छ।
गुप्ताका अनुसार “कुकुरले टोकेको र पहिले कहिल्यै ARV नलिएको बिरामीका लागि Immunoglobulin आवश्यक हुन्छ। त्यस्तो अवस्थामा हामीलाई बिरामीलाई नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंज रेफर गर्नुपर्ने बाध्यता हुन्छ,” उनले भने।
सेवाग्राहीहरूलाई आग्रह
अस्पतालले सेवाग्राहीहरूलाई अनावश्यक भीडभाड नगर्न, र अत्यावश्यक अवस्थामा मात्र अस्पताल सम्पर्क गर्न आग्रह गरेको छ। साथै, नयाँ भ्याक्सिन उपलब्ध भएपछि तुरुन्त सेवा पुनः सुरु गरिने जानकारी पनि दिएको छ।



Leave a Reply