प्रधानमन्त्री शाहको निर्देशन: दैनिक कामको विवरण समयमै बुझाउन परिपत्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत १८ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी कामकाजमा देखिँदै आएको ढिलासुस्ती अन्त्य गर्न नयाँ रिपोर्टिङ प्रणाली लागू गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, विभाग र आयोगलाई परिपत्र जारी गर्दै हरेक दिनको कार्यसम्पादन विवरण कार्यालय समयभित्रै बुझाउन निर्देशन दिएको हो।

प्रधानमन्त्री कार्यालयले सोमबार पत्राचार गर्दै दिनभर गरिएका कामको विस्तृत विवरण पठाउन भनेको छ। सोही अनुसार अधिकांश मन्त्रालयले फोकल पर्सन तोकेर दैनिक प्रतिवेदन पठाउन सुरु गरिसकेका छन्। प्राप्त जानकारीअनुसार यस जिम्मेवारी सहसचिव तहका कर्मचारीलाई दिइएको छ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची कार्यान्वयन भए/नभएको विषयमा प्रधानमन्त्री शाहले दैनिक अनुगमन गर्न थालेका छन्। यही आधारमा मन्त्रालयहरूको कार्यसम्पादन मूल्यांकन हुने जनाइएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रीहरू पनि सक्रिय बनेका छन्। केही मन्त्री कार्यालय समय अगावै सिंहदरबार पुग्न थालेको कर्मचारीहरू बताउँछन्। मन्त्रीहरूले मातहतका कर्मचारीलाई कामको गति बढाउन दबाब दिन थालेका छन्।

एक सहसचिवका अनुसार मन्त्रीहरूले कर्मचारीलाई दैनिक कामको प्रगति समयमै बुझाउन र कार्यक्षमता बढाउन आग्रह गरिरहेका छन्। ‘मन्त्रीज्यूले नै कामको गति बढाउनुपर्ने बताउनुभएको छ,’ उनले भने।

प्रधानमन्त्री शाहको यो कदमलाई शासकीय सुधारतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। यसले सरकारी कामकाजमा पारदर्शिता, जवाफदेहिता र तीव्रता ल्याउने अपेक्षा गरिएको छ।

Leave a Comment