धनुषामा बस र अटोरिक्सा ठोक्किँदा दुःखद दुर्घटना : चारको मृत्यु, दुई बालबालिका गम्भीर

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम, धनुषा — कात्तिक १६, २०८२ आइतबारधनुषाको गणेशमान चारनाथ नगरपालिकामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो। दुर्घटना गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा भएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर, र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गणेशमान चारनाथ नगरपालिका–१ का वडाध्यक्ष श्यामकुमार आलेमगरका अनुसार मृतक सबै एकै वडाका बासिन्दा हुन्। उनका भनाइअनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

दुई बालबालिका गम्भीर घाइते भएका छन् र उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

Leave a comment