जनकपुरधाम, २६ पुस — धनुषामा जग्गा अतिक्रमणसम्बन्धी विवाद चर्किँदा प्रहरी र स्थानीयबीच झडप भएको छ, जसमा आठ जना स्थानीय घाइते भएका छन्।
मिथिला नगरपालिका–२ अन्तर्गत सुकजोरस्थित सन्त रामपाल आश्रम आसपास शनिबार तनावपूर्ण अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो। धनुषा प्रहरीका अनुसार झडप नियन्त्रणका लागि नेपाल प्रहरीले सात र सशस्त्र प्रहरीले नौ गरी कुल १६ सेल अश्रुग्यास प्रहार गरेका थिए।
झडपका क्रममा घाइते भएका सबै व्यक्ति स्थानीय बासिन्दा रहेको प्रहरीको भनाइ छ। अवस्था थप बिग्रिएपछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्के सडक खण्ड अवरुद्ध गरेका थिए।
यस्तै, सखुवा महेन्द्रनगरस्थित औरही पुल नजिक एक एम्बुलेन्समा तोडफोड गरिएको घटनासमेत भएको छ। हाल उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थिति क्रमशः नियन्त्रणमा आउँदै गएको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण र क्षतिको विवरणबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।


