अमेरिकी गुप्तचर निर्देशक गबार्डको स्वीकारोक्ति : ‘अमेरिका दशकौँदेखि सरकार परिवर्तनमा संलग्न रह्यो’

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक १५ — अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले अमेरिकी विदेश नीति दशकौँदेखि गलत दिशामा अघि बढ्दै आएको स्वीकार गरेकी छन्। उनले अमेरिका निरन्तर अन्य देशका सरकार गिराउने र आफ्नै राजनीतिक व्यवस्था थोपर्ने गतिविधिमा संलग्न रहेको स्पष्ट रूपमा बताएकी छन्।

बहराइनमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलन ‘मनामा डाइलग’मा सम्बोधन गर्दै गबार्डले भनिन्, ‘हामी सधैं अरू देशका सरकारहरू परिवर्तन गर्ने र हाम्रो व्यवस्था थोपर्ने प्रयासमा संलग्न रह्यौं। यस्ता हस्तक्षेपका कारण ती देशहरूमा अवस्था झन बिग्रिएका छन् र अमेरिकाको छवि पनि कमजोर भएको छ।’

उनका अनुसार, अमेरिकाले दशकौँदेखि अपनाउँदै आएको ‘सरकार परिवर्तन र राष्ट्र निर्माण’को नीति अन्ततः प्रतिकूल परिणाम बोक्ने साबित भएको हो। उनले जोड दिइन्, ‘खरबौँ डलर खर्च र असंख्य ज्यान गुम्दा पनि हामीले मित्रभन्दा बढी शत्रु बनायौं।’

गबार्डले यस वर्षको सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई उद्धृत गर्दै भनिन् कि ट्रम्पको शासनकालमै अमेरिकाको पुरानो हस्तक्षेपमुखी नीति अन्त्य भएको हो।

विदेश नीतिमा नयाँ दिशा
गबार्डका अनुसार, ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले मानवअधिकार र लोकतन्त्र प्रवर्द्धनजस्ता अघिल्ला नारा परित्याग गरी आर्थिक समृद्धि र क्षेत्रीय स्थायित्वमा ध्यान केन्द्रित गरेको छ।

उनले उदाहरण दिँदै भनिन्, गाजामा इजरायल–हमास युद्ध रोक्न युद्धविराम सम्झौता, र इरानका परमाणु केन्द्रहरूमा अमेरिकी दबाबले १२ दिने युद्ध टारिएको कदम यस नीतिगत परिवर्तनका प्रमाण हुन्।

गबार्डले निष्कर्ष निकालिन्, ‘२००१ को सेप्टेम्बर ११ पछि अमेरिकाले लडेको युद्धहरूले हामीलाई सुरक्षा होइन, अझ ठूलो खतरा र अविश्वासको घेरामा पुर्‍याएको छ। अब समय आएको छ कि हामीले विश्वलाई आफ्नो शासन होइन, सहकार्यको सन्देश दिनुपर्छ।’

Leave a comment