राष्ट्रपति पौडेल दोहामा, दोस्रो विश्व शिखर सम्मेलनमा सहभागिता

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

दोहा, कतार – कात्तिक १७, २०८२ सोमबार

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा पुगेर कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन आज कतार पुगेका छन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रथम महिला सबिता पौडेल सहित दोहा पुगेका हुन्। उनको स्वागत दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल मा नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालयका उच्च पदाधिकारीहरूले गरेका थिए।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै, सम्मेलनको अवसरमा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानीसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

यो सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजना भएको थियो। सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्यामा असन्तुलन, प्रविधिको प्रभाव र सामाजिक विकाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

नेपाल १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको भएदेखि शान्ति र स्थायित्वका लागि सक्रिय रहेको छ। वर्तमानमा नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् को अध्यक्ष रहेको छ। राष्ट्रपति पौडेलको कतार भ्रमण पूरा भएसँगै कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।

Leave a comment