मधेश सरकारको परीक्षा आज, मुख्यमन्त्री यादवले प्रदेशसभामा माग्दै विश्वास

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ पुस, काठमाडौं ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको केही सातामै उनले आफ्नो सरकारको बहुमत परीक्षण गर्न लागेका हुन्।

प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार दिउँसो ४ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। सो प्रस्तावमाथि छलफलपछि मतदान हुनेछ।

यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले उनी १५ दिनभित्रै संसद्मा उपस्थित हुन लागेका हुन्।

यसअघि उनले विश्वासको मतका लागि बैठक आह्वान गर्न बुधबार प्रदेशसभा सचिवालयमा औपचारिक पत्राचार गरेका थिए। आजको बैठकले मधेश प्रदेशको वर्तमान सत्ता समीकरण कति बलियो छ भन्ने स्पष्ट संकेत गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment