काठमाडौँ, माघ २६ — वीरगञ्ज महानगरपालिका–१० मा रहेको अवैध कपडा गोदाममा छापा हान्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। आक्रमणका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सोमबार बिहान आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गोदामबाट करिब सात लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। कपडा नियन्त्रणमा लिएपछि तस्कर समूहले ढुंगामुढा गर्दै आक्रमण गरेको जनाइएको छ।
तस्करको आक्रमणबाट सशस्त्र प्रहरी बलको एक वटा वानटन र एक वटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ। घाइते सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

