जनकपुरधाम, कात्तिक १८
वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।
उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी आलोचनाको केन्द्रमा परेका थिए। भिडियो सार्वजनिक भएको केही समयपछि उनले ५ असोजमा उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका थिए।
राजीनामा पत्रमा अध्यक्ष चौधरीले पदमा रहेर आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको कारण जनाउँदै स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभवलाई जीवनको महत्वपूर्ण उपलब्धि ठान्दछु। भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्नेछु।”
अध्यक्ष चौधरीको राजीनामा आज बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन्। उनले भनिन्, “अध्यक्षज्यूको राजीनामा औपचारिक रूपमा स्वीकृत गरिएको छ र अब गाउँपालिकाको कामकाज नियमित रूपमा अघि बढ्नेछ।”
दिनानाथ चौधरी नेकपा (एमाले) बाट निर्वाचित भएका थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित हुन्।
गाउँपालिकाभित्रका जनप्रतिनिधिहरूबीच देखिएका विवाद र हालै सार्वजनिक भएका भिडियोका कारण स्थानीय तहमा नैतिकता र आचरणबारे बहस सुरु भएको छ।



Leave a Reply