मन्सुरको सुझाव : कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीको मुहार बनाएर चुनावमा जाओस्

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१९ कात्तिक, काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले आगामी संघीय निर्वाचनमा पार्टीले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जानुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावलाई मूल्यांकन गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका थिए।

‘जसको प्रभाव छ, त्यसैको मूल्यांकन गरेर निर्णय गरौं,’ उनले भने, ‘संघीय निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट “प्रधानमन्त्रीका लागि गगन” भन्ने नारासहित चुनावमा जाऔं।’

उनले आम जनमत गगन थापाको पक्षमा रहेको दाबी गर्दै भने, ‘मैले जनताबाट सुनेको छु — गगन थापा नै कांग्रेसको सभापति र प्रधानमन्त्रीका उम्मेदवार बने राम्रो हुन्छ भन्ने कुरा।’

मन्सुरका अनुसार गगन थापाको सक्रियताले पार्टीभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न सफल भएका छन्।

‘त्यसैले आउने चुनावमा गगन थापा नै प्रधानमन्त्रीका लागि हाम्रो फेस हुनुपर्छ,’ उनले जोड दिए, ‘कांग्रेसले नीति र कार्यक्रम तयार गरी नयाँ पुस्ताको नेतृत्वमा चुनावमा जानुपर्छ।’

सहमहामन्त्री मन्सुरले संस्थापन पक्षबाट तय गरिएको महाधिवेशन कार्यतालिकाप्रति पनि समर्थन जनाएका छन्।

Leave a comment