पाँच बुँदे सहमतिसँगै चिकित्सकको आन्दोलन स्थगित, अस्पताल सेवा पुनः सञ्चालन हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन १३ — सरकार र आन्दोलनरत चिकित्सकबीच पाँच बुँदे सहमति भएपछि देशभर जारी चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ। सहमतिसँगै आकस्मिक बाहेक बन्द गरिएका स्वास्थ्य सेवाहरू पनि क्रमशः पुनः सञ्चालन हुने भएका छन्।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो। सहमतिपत्रमा स्वास्थ्य सचिव विकास देवकोटा, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजालले हस्ताक्षर गरेका छन्।
पर्साको वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिटको घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए। उनीहरूले दुई दिनसम्म आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
चिकित्सकहरूले डा. राममाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाही, वार्ताका क्रममा चिकित्सकसँग दुर्व्यवहार गरेको आरोप लागेका पर्साका एसपी र डीएसपीको सरुवा, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी व्यवस्था तथा चिकित्सकहरूको माग सम्बोधन गर्न सरकारको स्पष्ट प्रतिबद्धताको माग गरेका थिए।
सरकारले चिकित्सकहरूको जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पाँच बुँदे सहमति भएको हो। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको नेपाल चिकित्सक संघले जनाएको छ।
यसअघि आन्दोलनका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका उपचार सेवा प्रभावित भएका थिए। अब भने अस्पतालहरूको नियमित सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।

Leave a Comment