काठमाडौँ, कात्तिक २०
विभिन्न वाम दलहरूबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। एकता घोषणाको भोलिपल्ट बिहीबार उक्त पार्टीले औपचारिक रूपमा दर्ता निवेदन दर्ता गराएको हो।
साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका १० वाम दल र समूह मिलेर नयाँ पार्टी गठन गरिएको हो। नवगठित पार्टीले आफ्नो चुनाव चिन्ह पाँचकुने तारा प्रस्ताव गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा नेपाली कम्युनिस्ट पार्टीको दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन्। उनका अनुसार आयोगले निवेदनका कागजात अध्ययन गरी प्रक्रिया अघि बढाउनेछ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आयोगबाट कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने व्यवस्था रहेको छ।
दलका नेता शिव खकुरेलका अनुसार एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन दर्ता गरिएको हो। उनले भने, “हामीले दल दर्ता प्रक्रिया सुरु गरेका छौँ। विधान र पदाधिकारी टुंग्याउने कार्य अन्तिम चरणमा छ, ती सबै कागजात आयोगमा पेश गरिनेछ।”



Leave a Reply