बाराका नवआगन्तुक सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएको, परिवर्तन आफैबाट हुन्छ’

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बाराका नवआगन्तुक सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएको, परिवर्तन आफैबाट हुन्छ’

बाराः २० कार्तिक, २०८२ – बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले जिल्लामा सुशासन कायम गर्न आएको र राष्ट्र सेवकका रूपमा आफ्नो कर्तव्य पालन गर्ने घोषणा गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बारामा सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले मातहतका कार्यालयहरूमा परिवर्तन आफैबाट सुरु गरी सबै कार्यालयलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे।

सीडीओ मिश्रले खुला सिमानाका चुनौतीहरूलाई मध्यनजर गर्दै चोरी निकासी र पैठारी रोक्ने, गैरकानुनी कार्य नियन्त्रण गर्ने, र सीमा वारपार हुने अवैध गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाए। उनले जेन्जी पुस्ताको भावना बुझेर उनीहरूको मुद्दालाई प्राथमिकता दिने र गृह मन्त्रालयबाट आएको ६२ बुँदे निर्देशन कार्यान्वयन गर्ने बताए।

उक्त कार्यक्रममा उनले सार्वजनिक समारोहमा माला खादा लगाउनुभन्दा काममा ध्यान दिनुपर्ने धारणा राख्दै सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न निर्देशन दिए। उनका अनुसार, मनोबल गिराए जिल्लाकै मनोबल गिर्ने खतरा रहेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, सिकेन्द्र पासवान, पन्नालाल दास, उपेन्द्र ठाकुर, अनिल तिवारी लगायतका सञ्चारकर्मीहरूले जिल्लाका समग्र सुरक्षा चुनौतीबारे आफ्ना सुझावहरू प्रस्तुत गरे। साथै, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरीका सप्रउ खुम केसी लगायतका सुरक्षा अधिकारीहरू पनि उपस्थित थिए।

Leave a comment