पिप्राविर्तामा मध्यरातिको आगलागी, पशुसहित लाखौंको क्षति

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

 


२२ कार्तिक, बारा

बाराको महागढीमाई नगरपालिका–९, पिप्राविर्तामा गएराती मध्यराति भएको आगलागीबाट घरगोठ जलेर खरानी भएको छ। आगलागीमा पशुसहित करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय समाजसेवी सोनालाल साहका अनुसार महादेव प्रसाद यादवको घरमा राति करिब २ बजे मच्छर धपाउन राखिएको घुरबाट आगो सल्किँदा घरगोठमा आगलागी भएको हो।

आगलागीबाट घर पूर्णरूपमा जलेर खरानी भएको छ भने घरमै रहेका दुई वटा बाख्रा जलेर मरेका छन्। त्यस्तै, एक भैंसी गम्भीररूपमा डढेर घाइते भएको छ।

घरमा रहेका कपडा, भाँडाकुडा र अन्य सामग्री समेत जलेर नष्ट भएका कारण आर्थिक क्षति ठूलो भएको पीडित यादवले बताएका छन्।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाहरूले सहयोग गरेका थिए। स्थानीयहरूले तत्काल उद्धार कार्य अघि बढाएर आगो नियन्त्रणमा ल्याएका थिए।

आगलागीबाट पीडित परिवार अहिले असहाय अवस्थामा परेको र उनीहरूले राहत र उपचारको माग गरेका छन्। घाइते भैंसीको तत्काल उपचारको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

 

Leave a comment