संविधान सुदृढ गर्न निर्वाचन सफल बनाऔँ : राष्ट्रपति पौडेल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २३ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन्। उनले संविधान र लोकतन्त्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन निर्वाचनलाई सफल बनाउनु अपरिहार्य भएको बताएका छन्।

रविवार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपाल (Public Service Broadcasting Nepal) को प्रथम वार्षिकोत्सवका अवसरमा बोल्दै राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्न निर्वाचनलाई जनताको उत्सवका रूपमा मनाउनुपर्ने बताए।

उनले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिका निर्णायक हुने उल्लेख गरे। राष्ट्रपति पौडेलले भने, “सत्य, तथ्य र विश्वसनीय सूचना नागरिकको मौलिक अधिकार हो। सञ्चार माध्यमले सत्यमा आधारित जानकारी प्रदान गर्नु आफ्नो कर्तव्य र दायित्व हो।”

राष्ट्रपतिले प्रविधिको दुरुपयोग गरेर भ्रम र मिथ्या सूचना सम्प्रेषण गर्ने प्रवृत्तिबाट जनतालाई जोगाउन जिम्मेवार आमसञ्चार माध्यमहरूले सचेत रहनुपर्ने पनि बताए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल ले आमसञ्चार माध्यमलाई व्यवसायिक र सिर्जनात्मक ढङ्गले अघि बढाउन आग्रह गरे। उनले सार्वजनिक सेवा प्रसारणले फरक र गुणस्तरीय विषयवस्तु प्रस्तुत गर्दै दीगो रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

सो अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको र नयाँ टेलिभिजन च्यानल एन टिभी वर्ल्ड (N TV World) को पनि औपचारिक शुभारम्भ गरिएको थियो।


 

Leave a comment