१४ पुस, काठमाडौं ।
राजनीतिक ध्रुवीकरण र नेतृत्वबीचको दूरी बढिरहेका बेला ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले आफूले तीन चर्चित सार्वजनिक व्यक्तित्वलाई एउटै टेबलमा ल्याएको दाबी गर्दै देशव्यापी सिभिलियन फोर्स गठन गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उज्यालो नेपालका कुलमान घिसिङबीच संवाद र सहकार्यको वातावरण बनेसँगै अब नागरिकस्तरबाटै दबाब सिर्जना गर्ने नयाँ संरचनातर्फ जाने उनको भनाइ छ।
अनलाइनखबरसँगको कुराकानीमा गुरुङले भने,
“चुनाव मेरो प्राथमिकता होइन। देशमा थुप्रिएका राष्ट्रिय समस्याको समाधान मुख्य मुद्दा हो। त्यसका लागि १–२ जनवरीभित्र सिभिलियन फोर्स घोषणा गर्छौं।”
टोलदेखि केन्द्रसम्म आवाज पुर्याउने दाबी
गुरुङका अनुसार प्रस्तावित सिभिलियन फोर्स कुनै राजनीतिक दलको संगठन नभई नागरिक आवाजलाई डिजिटल र संस्थागत रूपमा जोड्ने प्लेटफर्म हुनेछ। टोल, गाउँ र स्थानीय तहमा देखिने समस्याहरूलाई केन्द्रसम्म पुर्याउने संरचना बनाउने लक्ष्य रहेको उनले बताए।
“नेपाललाई डिजिटल रूपमा एउटै सञ्जालमा कसरी बाँध्ने भन्ने मेरो मिसन हो,” उनले भने, “नागरिकका मुद्दा सीधै केन्द्रमा पुग्नुपर्छ।”
‘पहिलो काम मिलाउनु थियो, मिलाएँ’
आफूले पहिला रवि, बालेन र कुलमानबीचको दूरी घटाउने जिम्मेवारी लिएको र त्यसमा सफल भएको गुरुङको दाबी छ।
“कांग्रेस–एमाले मिल्न सक्छन् भने तपाईंहरू किन मिल्न नसक्ने?” भन्ने प्रश्नपछि तीनै जना संवादमा बसेको उनले बताए।
उनका अनुसार उक्त भेटवार्ताबाट ‘सकारात्मक परिणाम’ देखिन थालेको छ, जसले अब नागरिक तहको साझा अभियानको आधार तयार गरेको छ।
नयाँ राजनीतिक संकेत ?
सुदन गुरुङको घोषणालाई कतिपयले नयाँ किसिमको नागरिक आन्दोलनको सुरुवातका रूपमा हेर्न थालेका छन् भने केहीले यसलाई आगामी दिनमा वैकल्पिक राजनीतिक शक्तिको आधार बन्न सक्ने संकेतका रूपमा पनि विश्लेषण गरेका छन्।
सिभिलियन फोर्सको स्वरूप, संरचना र नेतृत्वबारे भने आगामी दिनमा औपचारिक घोषणा गरिने बताइएको छ।

