नयाँ दिल्लीको लालकिल्ला स्टेशननजिक कार विस्फोट, १० जनाको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२० बढी घाइते, आतंकवादी आक्रमणको आशंका

२४ कात्तिक, काठमाडौं।
भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशननजिक कारमा भएको विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ। विस्फोटमा २० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार स्टेशननजिकै पार्क गरिएको एक कार अचानक विस्फोट भएको थियो। विस्फोटको कारण अहिले अनुसन्धानमा रहेको भए पनि प्रारम्भिक रूपमा यसलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ।

बीबीसीले उद्धृत गरेका अग्नि नियन्त्रक अधिकारीहरूले साँझ करिब ६ बजेर ५५ मिनेटमा विस्फोट भएको जानकारी प्राप्त भएको जनाएका छन्। घटनास्थलमा पुग्दा कारमा ठूलो आगलागी भइसकेको र नजिकका अन्य सवारीसाधनहरू समेत क्षतिग्रस्त भएको बताइएको छ।

विस्फोटपछि प्रहरी र सुरक्षाकर्मीहरूले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गर्दै तत्काल उद्धार र नियन्त्रणको काम थालेका थिए। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।

हालसम्म कुनै समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन। भारतको गृह मन्त्रालयले घटनाको विस्तृत अनुसन्धानका लागि विशेष टोली गठन गरेको जनाएको छ।


 

Leave a comment