२७ कात्तिक, काठमाडौं ।
निर्वाचन आयोगका अनुसार बुधबार मात्रै देशभर ३० हजार ३७३ जना नयाँ मतदाता थपिएका छन्। यससँगै बुधबार राति ८ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाको कुल संख्या २ लाख ३९ हजार ९४० पुगेको छ।
कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएकाले अब दर्ताको म्याद तीन दिन मात्र बाँकी छ। आयोगका अनुसार समय सकिन लागेसँगै नयाँ मतदाता थपिने दर तीव्र बन्दै गएको छ।
आयोगका अधिकारीहरूले पछिल्ला केही दिन दर्ता प्रक्रियामा अझै बढी रफ्तार आउने अपेक्षा व्यक्त गरेका छन्। यसमा राष्ट्रिय परिचयपत्रका तथ्यांक प्रयोग गर्न थालेपछि दर्ता कार्य अझ सहज भएको बताइएको छ।
आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने तयारी गरेको छ। यसका लागि बुधबार राति प्राविधिक तयारी र परीक्षण सम्पन्न गरिएको आयोगले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनका तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्। छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरू उपस्थित थिए।
छलफलका क्रममा आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा नाम दर्ता प्रक्रिया सुरु गर्न लागेको जानकारी प्रधानमन्त्रीलाई गराएको थियो।
त्यस अवसरमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका क्रममा संकलित जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन विभाग तयार रहेको बताएका थिए।
यसबाट राष्ट्रिय परिचयपत्र नम्बर भएका तर व्यक्तिगत रूपमा निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने नागरिकहरूलाई पनि नाम दर्ता गर्न सहज हुने आयोगको विश्वास छ।



Leave a Reply