जनकपुरधाम, २७ कात्तिक ।
मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले गरेका पछिल्ला निर्णयहरू बदर भएका छन्। सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै दर्ता भएको महाभियोग प्रस्तावपछि मण्डलको पद स्वतः रिक्त भएको दाबी गर्दै उपसभामुख रामप्यारी राउतले उक्त निर्णयहरू बदर गरेको सूचना जारी गरेकी हुन्।
राउतले जारी गरेको सूचनामा महाभियोग प्रस्ताव दर्ता भएसँगै सभामुखले कुनै पनि निर्णय गर्न नपाउने संवैधानिक व्यवस्था उल्लेख गरिएको छ। उनका अनुसार मण्डलका निर्णयहरू अब कानुनी मान्यतामा रहने छैनन्।
सभामुख मण्डल नेकपा एमालेबाट निर्वाचित हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट विजयी भएकी हुन्। प्रदेशसभामा हाल तीव्र राजनीतिक द्वन्द्व चलिरहेका बेला आएको यो कदमले मधेश राजनीतिको तापक्रम झनै चुलिएको छ।
प्रदेशसभाको आगामी बैठकमा महाभियोगसम्बन्धी कार्यसूची अघि बढाइने तयारीसमेत गरिएको बताइएको छ।



Leave a Reply