२०७९ कात्तिक २८, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि अनलाइन आवेदन दिने क्रममा देखिएको सर्भर अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।
शुक्रबार उनले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी अनलाइन आवेदनको चापका कारण सेवा अवरुद्ध हुने अवस्था बनेको भन्दै आवश्यक प्राविधिक सुधार गर्न निर्देशन दिइन्। आयोगले राष्ट्रिय परिचय पत्र बनाइसकेका नागरिकका लागि अनलाइनबाटै मतदाता नाम दर्ताको व्यवस्था सुरु गरेपछि आवेदनको चाप अत्यधिक बढिरहेको छ।
अनलाइन प्रणाली सुचारु नहुँदा सेवा लिन आएका नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले समस्यामुक्त सेवा सुनिश्चित गर्न आग्रह गरेकी हुन्। सो अवसरमा उनले मतदाता नाम दर्ताको समय सीमा पनि थप गर्न सुझाव दिएकी छन्।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले नाम दर्ताको समय पाँच दिनसम्म थप गर्न सकिने जानकारी प्रधानमन्त्रीलाई गराएको उनको प्रेस संयोजक राम रावलले बताए। आयोगले हाल ३० कात्तिकसम्मको समय सीमा निर्धारण गरेको छ। आवेदनको चाप बढेसँगै समय थप गर्ने तयारी आयोगले अघि बढाएको छ।



Leave a Reply