सिमरा घटना : मौखिक सहमतिपछि जेनजीको आन्दोलन सोमबारसम्म स्थगित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

५ मंसिर, बारा — बाराको सिमरामा चार दिनदेखि जारी तनाव अन्त्य गर्न जेनजी युवा र स्थानीय प्रशासनबीच शुक्रबार मौखिक सहमति भएको छ। सहमतिपछि जेनजीले आफूहरूको आन्दोलन सोमबारसम्मका लागि स्थगित गरेको घोषणा गरेका छन्।

शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रतिनिधि र जेनजी युवाहरूबीच करिब चार घण्टा छलफल भएको थियो। त्यस क्रममा प्रशासनले जेनजीका छवटै माग पूरा गर्ने प्रतिबद्धता मौखिक रूपमा व्यक्त गरेको हो।

जेनजीका बारा संयोजक सम्राट उपाध्यायले एमाले कार्यकर्ताबाट भएका आक्रमणमा संलग्नहरूलाई कारबाही गर्ने, घाइतेको उपचारको व्यवस्था गर्ने र जेनजी युवाको सुरक्षाको ग्यारेन्टी गर्ने सीडीओको प्रतिबद्धतापछि आन्दोलन स्थगित गरिएको बताए।

‘हामी सीडीओको आश्वासनपछि ब्याक भएका हौं, अहिले लिखित सहमति भने भएको छैन,’ उपाध्यायले पत्रकारसँग भने।
उनका अनुसार शनिबार र आइतबार दुई दिन प्रशासनको कार्यान्वयन हेरेर सोमबारसम्म पर्खिने निर्णय गरिएको छ। प्रतिबद्धता पूरा नभए ‘सडकमै न्याय खोजिने’ चेतावनी उनले दिए।

लिखित सहमतिको विकल्प: मौखिक आश्वासन

वार्ताको सुरुवातमा जेनजी टोली लिखित सहमतिको मागमा अडिग थियो। तर वार्ताका क्रममा जनकपुरबाट आएका जेनजी नेता सुदन गुरुङले ‘सीडीओको सार्वजनिक प्रतिबद्धता विश्वासयोग्य हुने’ भन्दै मौखिक समझौतामा सहमत हुन सुझाव दिए।
गुरुङका अनुसार, ‘क्यामेरासामु बोलेको कुरा सार्वजनिक प्रतिवद्धता हो, त्यसैले विश्वास गर्न सकिन्छ।’

यद्यपि छलफलमा भएका सहमतिबारे प्रशासनले विज्ञप्ति जारी गर्ने प्रतिबद्धता सीडीओ मिश्रले दिएका छन्।

सुदन–सीडीओबीच लिखित सहमतिलाई लिएर रस्साकस्सी

छलफलमा अन्तिमसम्म सुदन गुरुङले लिखित कागजातमै सहमति गर्न आग्रह गर्दै आए। तर सीडीओ मिश्रले ‘लिखित दस्तावेज बनाउने अधिकार माथिल्लो तहमा भएको’ भन्दै मौखिक सहमतिको नै आग्रह दोहोर्‍याइरहे।

सुदनले आइतबारसम्म माथिसँग समन्वय गरी लिखित कागजात तयार गर्न समय दिएका छन्।
सीडीओले भने, ‘यहाँहरूले मलाई विश्वास गर्नुभयो भने मेरो मोरल पनि हाई हुन्छ। ममाथि जनताको भरोसा नरहे मैले किन बस्ने?’

जेनजीका ६ माग

१) बाराका एसपी सन्तोष तामाङसहित सिमरा र जिल्ला प्रहरी कार्यालयका जिम्मेवार अधिकारीलाई कारबाही गर्नुपर्ने।
२) जेनजी प्रदर्शनकारी र सहयोगकर्ताको सुरक्षा सुनिश्चित गर्नुपर्ने।
३) जेनजीमाथि हातपात गर्ने सबैलाई कडा कानुनी कारबाही गर्नुपर्ने।
४) आक्रमणमा संलग्न एमाले कार्यकर्ता अरविन्द साहको फोन रेकर्ड जाँच गर्नुपर्ने।
५) घाइतेको निःशुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने।
६) सुरुको जाहेरीमा छुटेका नवराज बस्नेत र विशाल लामालाई पूरक जाहेरीमार्फत पक्राउ गर्नुपर्ने।

प्रशासनले सबै मागमा मौखिक सहमति जनाउँदै कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।
एसपी तामाङले फरार व्यक्तिलाई “छिटो भन्दा छिटो” पक्राउ गरिने तथा पूरक जाहेरी लिएर अनुसन्धान अघि बढाइने जानकारी दिए।

वार्ता टोली

जेनजीतर्फबाट बारा संयोजक सम्राट उपाध्यायको नेतृत्वमा कपिल खरेल, आयुष न्यौपाने, पुरुषोत्तम यादव, शिव यादव र सुदन गुरुङ सहभागी थिए।
प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी उपस्थित थिए।

Leave a comment