आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद् सचिवालयका अनुसार आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नेछ।
संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेले राष्ट्रपतिद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जानकारी दिएका छन्। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।
संयुक्त बैठकका लागि सांसदहरूलाई दिउँसो ३ः४५ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षमा उपस्थित हुन आग्रह गरिएको छ।
संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै प्रतिनिधिसभा नियमावलीसम्बन्धी मस्यौदा प्रस्तुत गर्ने, बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेश गर्ने तथा सरकारले जारी गरेका आठ अध्यादेश संसद्मा टेबल गर्ने कार्यसूची पनि तय गरिएको छ। ती अध्यादेश राष्ट्रियसभामा समेत प्रस्तुत गरिनेछ।

Leave a Comment