रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा भेटियो, संलग्न तीन अभियुक्त नियन्त्रणमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९ मंसिर, विराटनगर ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोली इलाममा बिक्री भएको खुलेको छ । सोही हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाका दुई जना र इलामका एक जना रहेका छन् ।

लागूऔषध कारोबारीको समूह खोजी गर्ने क्रममा प्रहरीले लुटिएको हतियार फेला पारेको हो । प्रारम्भिक अनुसन्धानका अनुसार दमक नगरपालिका–८ निवासी २५ वर्षीय सरोज पुरी जेनजी आन्दोलनका बेला काठमाडौंबाट पेस्तोल लुटेर ल्याएको खुलेको छ । उनको कोठाबाट टाइप–५४ मोडेलको पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको छ ।

सोधपुछका क्रममा पुरीले बाँकी एक पेस्तोल दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताएको प्रहरीले जनाएको छ । कांग्रेस नेता तथा पूर्व–संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा विश्वलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएपछि उनले हतियार इलामका साथीलाई बेचेको स्वीकारेका थिए ।

उनकै बयानका आधारमा प्रहरी टोली इलामको चुलाचुली गाउँपालिका–४ आइतबारे पुगेको थियो । सोधपुछमा ३० वर्षीय पवन हाङसुङ्वाले २० हजार रुपैयाँमा पेस्तोल किनेको र बारीमा लुकाएर राखेको बताएका थिए । उत्खनन गर्दा रातो प्लास्टिकको झोलामा राखिएको, ५ राउण्ड गोली लोड गरिएको टाइप–५४ पेस्तोल भेटिएको छ । माटोमा गाडिएको कारण पेस्तोलमा खिया लागेको पनि प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार तीनै जना लागुऔषध प्रयोगकर्ताजस्तै देखिन्छन्, र विस्तृत अनुसन्धानका लागि सबैलाई काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले बरामद हतियार, गोली तथा पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि काठमाडौं महानगरीय प्रहरी परिसरलाई जिम्मा लगाइएको जानकारी दिए ।

Leave a comment