विवाह पञ्चमी : राम–सीताको दिव्य विवाह उत्सवमा जनकपुर

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९ मंसिर, जनकपुरधाम । देशभर आज राम–सीताको पूजा–अर्चना गरी विवाह पञ्चमी पर्व उल्लासपूर्वक मनाइँदैछ। मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा भगवान् राम र जानकीको ऐतिहासिक विवाह संस्कार विधिवत रूपमा सम्पन्न हुँदैछ।

जनकपुरधामको १२ बिघा क्षेत्रमा रहेको ऐतिहासिक रङ्गभूमि मैदानमा आज बिहानैदेखि सम्पन्न स्वयम्बरमा हजारौँ श्रद्धालुको बाक्लो भीड लागेको छ। पौराणिक कथनअनुसार यही स्थानमा त्रेतायुगमा राजा जनकले सीताको स्वयम्बर राखेका थिए, जहाँ अयोध्याका राजकुमार रामले शिव धनुष उठाएर तीन टुक्रा पारेका थिए।

डोलासहित भव्य शोभायात्रा

बिहानैदेखि राम मन्दिर र जानकी मन्दिर दुवैतर्फबाट बाजागाजा र झाँकीसहित डोला निकालिएको छ। सीता र रामको विशेषरूपमा सजाइएको डोलालाई जनकपुर परिक्रमा गराइँदै राति जानकी मन्दिरमा पुगेर वैवाहिक विधि सम्पन्न गरिने कार्यक्रम तय गरिएको छ।

भारतको अयोध्याबाट साधु–सन्तको जन्ती

यस वर्ष पाँच वर्षको अन्तरालमा नेपाल–भारतको धार्मिक सम्बन्धलाई झनै मजबुत बनाउने परम्पराअनुसार अयोध्याबाट ठूलो संख्यामा साधु–सन्तको जन्ती जनकपुर आइपुगेका छन्। उनीहरूको सहभागिताले महोत्सवमा थप रौनक बढेको जनकपुरधाममा अनुभूति भएको छ।

श्रद्धालुको भीड, उत्सवको रौनक

महोत्तरी, धनुषा, सिरहा, सप्तरी र बर्दिबाससहितका ठाउँबाट जनकपुर आउने बसमा यात्रुको चाप अत्यधिक देखिएको छ। भक्तजन बिहानैदेखि पवित्र सरोवरमा स्नान गरी पूजा, भजन–कीर्तन, रामलीला र झाँकीका कार्यक्रममा सहभागी भइरहेका छन्।

मिथिला संस्कारअनुसार विवाह

महोत्सवमा मटकोर, तिलकोत्सव, स्वयंवरदेखि वैवाहिक संस्कारसम्मका सबै विधि मिथिला परम्पराअनुसार नै गरिन्छ। रङ्गभूमिमा सम्पन्न हुने वर–बधू पक्षबीचका हास–ठट्टा, गाउँ–गाउँबाट आएका सांस्कृतिक झाँकी र लाखौँ भक्तजनको उपस्थिति यस पर्वको प्रमुख आकर्षण बनेको छ।

पौराणिक मान्यता

रामायणमा वर्णित कथनअनुसार स्वयंवरमा ५६ कोटी देवताको अदृश्य उपस्थिति रहने विश्वासले भक्तजन अझै भक्तिभावमा डुबेर विवाहपञ्चमी पर्वमा सहभागी हुने गर्छन्।

दुई दशकयता तिरहुतियागाछीभन्दा बढी आकर्षण र व्यवस्थासहित यो महोत्सव रङ्गभूमि मैदानमै भव्य रूपमा आयोजना हुँदै आएको छ।

Leave a comment