यसवर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्न किसानको माग

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

गत वर्ष तोकिएको अनुदान र यस वर्ष न्यायोचित मूल्य नपाए चरणबद्ध सडक संघर्ष गर्ने चेतावनी

११ मंसिर,काठमाडौ

किसानहरूले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल न्यूनतम ७५० रुपैयाँ कायम गर्न सरकारसमक्ष माग गरेका छन्। हालै देशभरिका उखु उत्पादक किसानका प्रतिनिधिले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारसँग भेट गरी गत वर्षको तुलनामा मूल्य वृद्धि गर्न आग्रह गरेका हुन्।

मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले किसानको तर्फबाट मन्त्री परियारलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए। उनका अनुसार “मागअनुसार मूल्य वृद्धि नभए चरणबद्ध सडक आन्दोलनमा जाने” चेतावनी समेत सरकारलाई दिइएको छ। उनले मूल्य निर्धारणमा सरकार, उद्योगी तथा किसान सबैको सहमति आवश्यक हुनेमा जोड दिए।

सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, नवलपरासी, कञ्चनपुर, सप्तरीलगायत करिब एक दर्जन जिल्लाका प्रतिनिधिहरूले मन्त्री परियारलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

पछिल्ला करिब १० वर्षदेखि सरकारले किसानलाई उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको थियो। तर केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त अनुदान ५० प्रतिशतले कटौती गरेपछि गत वर्ष क्रसिङ भएको उखुको किसानले प्रतिक्विन्टल ३५ रुपैयाँ मात्रै भुक्तानी पाएको किसानहरू बताउँछन्। उनीहरूले कटौतीको विरोध गर्दै गत वर्षको बाँकी ३५ रुपैयाँ मंसिर १३ गतेभित्र भुक्तानी नभए आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

गत वर्ष सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनी मिलहरूले प्रतिक्विन्टल ५८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान प्रदान गर्ने निर्णय गरेको थियो। उद्योगहरूले क्रसिङ भएकाे उखुको भुक्तानी गरिसके पनि सरकारले भने अनुदानमध्ये ३५ रुपैयाँ कटौती गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाएको किसानहरूको आरोप छ।

उप्रेतीका अनुसार बाँकी ३५ रुपैयाँ अनुदान भुक्तानी नभए मंसिर १४ गतेदेखि पूर्व–पश्चिम राजमार्ग चक्काजाम गर्दै आन्दोलन थाल्ने तयारी गरिएको छ।

उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी

उता, उद्योगीहरूले भने उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग सञ्चालनको तयारी अघि बढाएका छन्। सर्लाहीको हरिवनस्थित इन्दु–शंकर चिनी उद्योगले यही मंसिर १४ गते डोँगा पूजा गर्ने भएको छ, जसलाई उद्योग सञ्चालनको अन्तिम तयारीका रूपमा हेरिन्छ।

उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालका अनुसार आइतबार शुभ साइतमा पूजा गरिने र उद्योग सञ्चालन पुस महिनादेखि शुरू हुनसक्ने बताएका छन्। उनका अनुसार यस बीचमा उखुको मूल्य निर्धारण पनि हुनसक्ने देखिन्छ।

Leave a comment