पदीय भागबन्डा र नेतृत्व द्वन्द्वले १२ दिनमै टुट्यो रास्वपा–उज्यालो एकता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, २६ पुस २०८२

पुराना दलहरूको विकल्प बन्ने दाबीका साथ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै भंग भएको छ । आदर्श, सुशासन र नयाँ राजनीतिक संस्कारको नारासहित गरिएको सहमति अन्ततः पद, भूमिका र नेतृत्वको वर्चस्वको विवादमा अल्झिएर असफल बनेको हो ।

रवि लामिछाने नेतृत्वको रास्वपा र कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीबीच पुस १४ गते भएको सातबुँदे सहमति सार्वजनिक रूपमा भत्किएको घोषणा शनिबार गरिएको हो । सहमतिमा जेनजी आन्दोलन, भ्रष्टाचारविरोधी अभियान, सुशासन र मेरिटोक्रेसीलाई साझा आधार बनाइए पनि व्यवहारमा ती मूल्यहरू कार्यान्वयन हुन नसकेको देखिएको छ ।

‘आदर्श लेखियो, संरचना पहिल्यै फिक्स थियो’

एकतासँगै नयाँ राजनीतिक शक्ति निर्माणको उद्घोष गरिए पनि नेतृत्व संरचना सुरुदेखि नै ‘पूर्वनिर्धारित’ बनाइएको भन्दै असन्तुष्टि बढ्दै गएको स्रोतहरूको भनाइ छ । शक्ति सन्तुलन अस्पष्ट हुँदा व्यक्तिकेन्द्रित निर्णय र बर्चस्वको होडले सहमतिको जग कमजोर बनेको विश्लेषण गरिएको छ ।

कुलमान घिसिङः ‘ठूलो पद मागेको थिइनँ’

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले कुनै ठूलो पदको बार्गेनिङ नगरेको दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाको साधारण सदस्य भएर काम गर्नेसम्मको प्रस्ताव दिएको बताए ।

‘म साधारण सदस्य बन्छु भनेको थिएँ, १२ दिनसम्म होल्ड गराएर राखियो,’ घिसिङले भने, ‘एकतर्फी रूपमा सहमति भंग गरिएको जानकारी मलाई मिडियाबाट आयो । यो समय हाम्रा लागि अत्यन्तै पीडादायी रह्यो।’

उनले रास्वपाले विभिन्न स्थानमा उज्यालो नेपालका कार्यकर्तालाई पार्टी प्रवेशका लागि आह्वान गरेको आरोपसमेत लगाए ।

‘१२ दिन ठूलो बिलखबन्दमा परेँ’

घिसिङले एकता यसरी चाँडै टुट्छ भन्ने कल्पना नगरेको बताए ।

‘अगाडि बढ्न खोज्दा अघि बढ्न दिइएन, पछि हट्न खोज्दा जेनजी र आम नागरिकको सपनाले रोक्यो,’ उनले भने, ‘यो १२ दिन मेरो राजनीतिक जीवनकै कठिन समय रह्यो।’

उनले सहमतिका लिखित र अलिखित दुवै बुँदा कार्यान्वयनमा रास्वपा तयार नभएको आरोप पनि लगाए ।

समानुपातिक चुनावबारे अस्पष्टता

पत्रकार सम्मेलनमा समानुपातिक निर्वाचनबारे सोधिएको प्रश्नमा घिसिङले ‘सकेसम्म व्यवस्थापन गर्ने’ जवाफ दिएका छन् ।

‘कानुनले नदिए प्रत्यक्षमै मात्रै भए पनि चुनाव लड्छौं,’ उनले स्पष्ट पारे।

उज्यालो नेपाल पार्टीले यसअघि समानुपातिकतर्फ बन्दसूची बुझाएको भए पनि रास्वपासँगको सहमतिपछि फिर्ता लिएको थियो ।

नयाँ शक्तिको दाबीमै प्रश्न

नयाँ राजनीतिक संस्कार र वैकल्पिक शक्ति निर्माणको दाबी गर्दै अघि बढेका दुवै दल पुरानै रोग—पद, हैसियत र नेतृत्व विवाद—बाट मुक्त हुन नसकेको टिप्पणी हुन थालेको छ । १२ दिनमै एकता विघटन हुनुले ‘नयाँ शक्ति’ को विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Leave a Comment