मङ्गलबार १९ फागुन, २०८२ काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन सञ्चालनमा छुट दिइएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अरूलाई ओसारपसार गर्न नपाउने व्यवस्था गरिएको छ।
ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको प्रयोजनबाहेक सवारी प्रयोग नगर्न सचेत गराएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार नियम उल्लंघन गरी अन्य व्यक्तिलाई बोक्ने सवारीसाधन फेला परेमा स्थानीय प्रशासनले तत्काल सञ्चालनमा रोक लगाउनेछ।
आयोगले स्पष्ट पारेको छ कि पास आवश्यक नपर्ने सवारीसाधनले पनि सम्बन्धित सेवा वा प्रयोजनसँग प्रत्यक्ष जोडिएका व्यक्तिमात्र बोक्न पाउनेछन्। विपरीत कार्य भएमा कारबाही हुने चेतावनी दिइएको छ।
यी सवारीलाई छुट
निर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गत केही सवारीसाधनलाई पास नचाहिने व्यवस्था गरिएको छ। तीमध्ये दमकल, एम्बुलेन्स र शववाहन रहेका छन्। साथै, खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई पनि छुट दिइएको छ।
दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतमा खटिने सवारीसाधनसमेत यस सूचीमा छन्। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई आवतजावत गराउने सवारीलाई पनि पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, शारीरिक रूपमा अशक्त वा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता तथा एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि छुट दिइएको छ। कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारीसाधन, पर्यवेक्षक परिचयपत्रबाहकले प्रयोग गर्ने सवारी, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीलाई समेत पास नचाहिने व्यवस्था छ।
साथै, बाट निषेधित क्षेत्र प्रवेश पास प्राप्त व्यक्तिको घर–कार्यालय आवतजावतका लागि प्रयोग हुने सवारीलाई पनि छुट दिइएको आयोगले जनाएको छ।
तर, यी सबै सवारीसाधनमा सम्बन्धित व्यक्तिबाहेक अन्यलाई बोक्न कडाइका साथ रोक लगाइएको आयोगले स्पष्ट पारेको छ।

