हङकङ आगलागी : मृत्यु संख्या १२८ पुग्यो, २०० भन्दा बढी अझै बेपत्ता

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, १२ मंसिर । हङकङको ताइ पोस्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ। मृतकमध्ये एक जना अग्नि नियन्त्रक पनि छन्।
अधिकारीहरूले आगो नियन्त्रणमा आएसँगै उद्धार कार्य औपचारिक रूपमा सम्पन्न भएको बताए पनि करीब २०० जनाको अवस्था अझै अज्ञात छ।

बुधबार दिउँसो २ बजेबाट सुरु भएको आगलागी मर्मतका क्रममा लगाइएको बाँसको स्काफफोल्डिङबाट फैलिँदै अन्य टावरहरूमा समेत पुगेर ठूलो मानवीय क्षति निम्त्याएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्ट ले जनाएको छ।
१०८ जनाको शव उद्धार गरिएको छ भने १६ जनाको शव अझै भीत्रै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उद्धार गरिएका शवमध्ये ८९ जनाको पहिचान हुन बाँकी छ। घटनामा ११ जना अग्नि नियन्त्रकसहित ७९ जना घाइते भएका छन्।

आठ ब्लकमध्ये सातमा आगो फैलियो

वाङ फुक कोर्टका आठ ब्लकमध्ये सातवटामा आगलागी फैलिएको हो।
अग्नि नियन्त्रण विभागका प्रमुख एन्डी येउङका अनुसार आगलागी सुरु हुँदासमेत कुनै टावरमा आपतकालीन साइरन नबजेको पाइएको छ। उनले परियोजनामा संलग्न ठेकेदारमाथि कडा कारबाही हुने संकेत गरे।
५०० डिग्रीभन्दा बढी तापमानका कारण माथिल्लो तलासम्म पुगेर उद्धार गर्नु कठिन भएको उनको भनाइ छ।

सन् २०२४ जुलाईदेखि चलिरहेको मर्मतका क्रममा भवनलाई बाँसको मचान र हरियो जालीले ढाकिएको थियो। अधिकारीहरूको भनाइमा सुरक्षा मापदण्डअनुसार नै जाली प्रयोग भए पनि फ्ल्याटका झ्यालमा रहेको ज्वलनशील पोलिस्टीरिन फोम ले आगो छिटो फैलिन मद्दत गर्‍यो।
टावरहरूबीचको दूरी नजिकै भएकाले पनि आगो अन्य ब्लकमा छिटै गएको आशंका छ।

ठूलो संख्यामा विदेशी कामदार प्रभावित

वाङ फुक कोर्टमा धेरै इन्डोनेसियाली र फिलिपिनी घरेलु कामदार बस्दै आएको बताइएको छ।
इन्डोनेसियाका महावाणिज्यदूतका अनुसार मृतकमध्ये दुई जना इन्डोनेसियाली नागरिक हुन् भने ११ जना अझै बेपत्ता छन्।
फिलिपिन्स दूतावासले एकजनाको मृत्यु पुष्टि गरेको छ र एक जना घरेलु कामदार अझै सम्पर्कमा छैनन्।

हङकङमा तीन दिनसम्म झण्डा आधा झुकाइने

घटनापछि हङकङ सरकारले शुक्रबारदेखि सोमबारसम्म राष्ट्रिय झण्डा र हङकङको झण्डा आधा झुकाउने निर्णय गरेको छ। विदेशस्थित नियोगहरूमा पनि झण्डा आधा झुकाइनेछ।
अति आवश्यक बाहेक कुनै पनि सार्वजनिक कार्यक्रम नगर्ने निर्णय गरिएको छ।

शनिबार बिहान ८ बजे हङकङका नेता जोन ली का–च्युसहित उच्च अधिकारीहरूले शोक सभामा तीन मिनेट मौन धारण गर्नेछन्।

८ जना नियन्त्रणमा, १३ स्थानमा छापा

हङकङको भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग (ICAC) ले आगलागी घटनाको अनुसन्धानका क्रममा ८ जनालाई नियन्त्रणमा लिएर १३ स्थानमा छापा मारेको छ।
पक्राउ पर्नेहरूमा विल पावर आर्किटेक्ट्सका परियोजना प्रबन्धक, स्काफफोल्डिङ कामका सहायक ठेकेदार तथा एक विचौलिया पनि छन्।
ICAC ले इञ्जिनियरिङ कागजात, बैंक रेकर्ड तथा अन्य कागजात पनि जफत गरेको छ।

घटनाको मूल कारण पहिचानका लागि प्राविधिक टोलीले व्यापक अध्ययन गरिरहेको हङकङ अधिकारीहरूले बताएका छन्।

Leave a comment