भारतको बिहारमा आज पहिलो चरणको मतदान

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, २०८२ कात्तिक २०

भारतको बिहार राज्यमा बिहीबार (२०८२ कात्तिक २०) विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ। यस चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटमा मतदाता मतदान गर्दैछन्। राजधानी पटना पनि पहिलो चरणको मतदान क्षेत्रभित्र पर्दछ।

पहिलो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादव लगायतका ‘हेभिवेट’ उम्मेदवारहरू प्रतिस्पर्धा गर्दैछन्। बाँकी २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरणको मतदान ११ नोभेम्बरमा हुनेछ। निर्वाचन आयोगले १४ नोभेम्बरमा नतिजा घोषणा गर्ने योजना बनाएको छ।

मुख्य राजनीतिक गठबन्धन एनडीए र महागठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी, हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चा आवद्ध छन्। महागठबन्धनमा राष्ट्रिय जनता दल, भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इण्डिया (मार्क्सवादी) रहेका छन्।

बिहार विधान सभा निर्वाचनमा कुल सात करोड ४३ लाख ५५ हजार ९७६ मतदाता छन्, जसमा करिब तीन करोड ९२ लाख पुरुष र तीन करोड ४९ लाख महिला मतदाता रहेका छन्। ८५ वर्षमाथिका चार लाख बढी नागरिक र पहिलोपटक मतदान गर्न लागेका १४ लाखभन्दा बढी युवा मतदाता पनि सहभागी हुनेछन्।

चुनावका मुख्य मुद्दा रोजगार, पलायन, अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, आधारभूत पूर्वाधार, महिला आरक्षण र लोकप्रिय कल्याणकारी योजनाहरू रहेका छन्। यस निर्वाचनले बिहारको राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण भूमिका खेल्नेछ।

Leave a comment