बारामा पानी फ्याक्ट्री मेनेजरको हत्या, दुई जना पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारामा पानी फ्याक्ट्री मेनेजरको हत्या, दुई जना पक्राउ

बाराद्वारा, १४ मंसिर २०८२ – जिल्ला प्रहरी कार्यालय बाराले राम किशोर सिंहको हत्या घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटना मंसिर ११ गते बेलुकी ८:२५ बजे बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ भलुही चोकस्थित KIRAN BEVERAGE NEPAL PVT. LTD. अगाडिको खाल्डोमा भएको हो। मृतक राम किशोर सिंहलाई धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनामा संलग्न आरोपीहरू पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. २२ मनियारी बस्ने करिमन रामको छोरा २१ वर्षीय राजन कुमार राम र ऐ. ऐ. बस्ने आदेश लाल साहको छोरा ३२ वर्षीय प्रमोद साह तुरहा रहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार, मृतक र आरोपीबीच गत वर्ष गढीमाई मेलाको क्रममा भएको झगडा र हालसालैको पानीको बिक्री विवादका कारण हत्या योजना बनेको थियो। घटना दिन उनीहरूले धारिलो छुरा र ईटको प्रयोग गरेका थिए।

प्रहरीले घटना सम्बन्धमा १६ घण्टाभित्र उनीहरूलाई फरार अवस्थामा भेटेर पक्राउ गरेको छ। घटनामा प्रयोग भएका रगत लागेको छुरा र ईट पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान कसुर मुद्दा दर्ता गरिएको छ र बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको छ।

Leave a comment