एनपीएल : कर्णालीलाई पराजित गर्दै प्लेअफ नजिक काठमाडौँ गुर्खाज

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१४ मंसिर ,काठमाडौँ ।
कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ यात्रा थप सहज बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँका लागि गेरहार्ड इरास्मस ४३ रन बनाउँदै अविजित रहे। त्यस्तै जोन सिम्सनले ४१ तथा बेन चार्ल्सवर्थले ३४ रन जोडे। उनीहरूको संयमित इनिङले टोलीलाई सहज जित दिलायो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका गुल्सन झा अविजित ४९ रनसहित शीर्ष स्कोरर रहे। पवन सर्राफले ३५ तथा मार्क वाटले ३० रन योगदान गरे। काठमाडौँका राशिद खानले सर्वाधिक २ विकेट लिए।

एनपीएलमा भोलि कुनै खेल हुने छैन। प्रतियोगिता अन्तर्गत पर्सि मंगलवार दुई खेल तय छन्—बिहान ११:४५ बजे चितवन राइनोज बनाम जनकपुर बोल्ट्स र दिउँसो ४ बजे अर्को खेलमा कर्णाली मैदान उत्रिनेछ।

Leave a comment