१७ मंसिर, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आगामी प्रक्रियासम्बन्धी विस्तृत चुनाव कार्यक्रम सार्वजनिक गरेको छ।
स्वीकृत कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म प्रारम्भिक मतदाता नामावली प्रकाशित गरिनेछ। सो नामावलीविरुद्ध पर्ने दाबी–विरोध तथा उजुरीहरूको छानबिनपछि पुस २२ गते ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।
उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ।
त्यसपछि पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय रहनेछ।
पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि २ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ।
उम्मेदवारलाई पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिनेछ।
मुख्य मतदान भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ।
आगामी फागुन २० गते राष्ट्रियसभामा रहेका १९ सदस्यको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये बामदेव गौतम राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले बाँकी १८ सिटका लागि निर्वाचन हुँदैछ।
प्रदेशगत सिट संख्या यसप्रकार छः
– कोशी : ३
– मधेश : ४
– बागमती : २
– गण्डकी : २
– लुम्बिनी : ३
– कर्णाली : २
– सुदूरपश्चिम : २



Leave a Reply